Home / Blogs / नेपालमा बनेको दुई मोटरसाइकल; यस्तो छ मूल्य र फिचर
  • Latest Bikes
  • 0

नेपालमा बनेको दुई मोटरसाइकल; यस्तो छ मूल्य र फिचर

Nepal Auto Trader

Share this News

image

यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र पी-१’ पूर्णरुपमा नेपाली बजारमा सार्वजनिक भएका छन ।  नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको नेपाली मूल्य सूची समेत सार्वजनिक गरेको छ । कम्पनीले गत हप्ता काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजनागरि आफ्ना दुई मोडल तयार भएको जानकारी दिएको थियो । नेपाली युवाहरुको टिमले नेपालमा नै डिजाइन र उत्पादन गरेको यी दुई मोटरसाइकल इलेक्ट्रीक पावरबाट चल्ने छन् ।


यात्रीको पी-१ मोटरसाइकलले १९ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ जसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । पी-१ मोडलमा ठूलो स्पोर्केट प्रयोग गरिएको छ भने यसमा १७ इन्चको टायर प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ । त्यस्तै पी-०मा प्रयोग भएको इलेक्ट्रीक मोटरले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्नेछ र सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सकिन्छ ।


यात्रीको पी-० र पी-१ मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ जसलाई दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज गर्छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै कम्पनीले पी-० मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ जसमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता पाउन सकिन्छ । सो मोटरसाईकलको अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड मोनोशक सस्पेन्सन दिइएको छ ।


पी–० को नेपाली बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने  पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यात्री मोटरसाइकल कम्पनीले बुकिङ खुल्ला समेत गरेको जनाएको छ । यी दुबइ मोटरसाइकलको टेस्ट राइड गत हप्ता बुधबार र बिहीबार हायात होटलमा सम्पन्न गरिएको थियो ।


Our latest comments