नेपाली बजारमा याडियाको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले तीन मोडलको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । चिनियाँ ब्राण्ड याडियाका जी–५, सी–वान एस र एस–लाइक गरी तीन मोडल टंगालमा रहेको शोरुमबाट ग्राहकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । याडियाका स्कुटर धेरै देशहरुमा विक्री हुँदै आएको छ भने यो गत बर्ष सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको थियो ।
याडियाको स्कुटरहरूको विशेषता यस प्रकारको छः
याडिया जी ५:
जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ जसले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ । जी–५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक छ जसलाई पूरा चार्ज गर्न ६ घन्टा लाग्छ । यस्तै एक पटकको चार्जमा योे ८० किलोमिटर गुड्छ । जी–५ मा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ भने दुवै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइटहरूमा एलइडी प्रयोग गरिएको छ । यसको नेपाली मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
याडिया सी–वान एस:
याडिया सि १ एसमा जी ५ कै समान जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ जसले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरलाई पनि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ । यसमा ६० भोल्ट, ३२ एएमपीको पानाशोनिक लिथियम आयोन ब्याट्री प्याक छ जसलाई पूरा चार्ज गर्न ६ घन्टा समय लाग्छ । एक पटकको चार्जमा ८० किलोमिटरको रेन्ज दिन्छ । सी–वान एसमा ५ इन्जको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ भने यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड सोलुसन प्रणाली छ । त्यस्तै यसमा दुवैतर्फ डिस्क ब्रेक छ । यसको नेपाली बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
याडिया एस–लाइक:
याडिया एस–लाइकमा पनि जिटीआर ३.० ब्रोड ब्यान्ड मोटर प्रयोग गरिएको छ जसले अधिकतम १२ सय वाट पावर प्रदान गर्छ भने अधिकतम १ सय २० एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रति घन्टाको छ । यसमा ६० भोल्ट, २४ एएमपीको लिथियम आयोन ब्याट्री प्याक छ जसलाई पूरा चार्ज गर्न ६ घन्टा समय लाग्छ । डबल ब्याट्रीको सुविधा रहेको सो स्कुटरमा एक पटकको पूरा चार्जपछि ६० किलोमिटर रेन्ज दिन्छ । याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक छ । कम्पनीले एस–लाइकको सुरुआती बजार मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेको छ ।