दक्षिण कोरियाको अटोमोबाइल कम्पनी कियाले कम्प्याक्ट मिड साइज एसयूभी सेल्टोस प्यानोरमिक सनरुफका साथमा नेपाली बजारमा उतार्ने भएको छ । रिपोर्टका अनुसार कम्पनीले २७ अप्रिल २०२१ मा एउटा घोषणा गर्ने भएको छ, यद्यपि सो घोषणाको बारेमा केही जानकारी दिइएको छैन । सो रिपोर्टमा कम्पनीले २०२१ किया सेल्टोसमा एक प्यानोरमिक सनरुफ समावेश गर्ने सम्भावना रहेको जानकारीहरु बाहिरीएका छन । नेपाली बजारमा कम्प्याक्ट मिड साइज एसयूभी सेगमेन्टमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर सो कार अपडेट गर्ने योजना बनेको हो ।
हाललाई किया सेल्टोसमा प्यारोनमिक सनरुफ बाहेक अन्य केही परिवर्तन भने गरिने छैन । किया सेल्टोस बीएस ६ पेट्रोल र डिजेल इन्जिनमा नेपाली बजारमा उपलब्ध रहेको छ । १.५ लिटर पेट्रोल इन्जिनले ११५ बीएचपीको पावर र १४४ एनएमको टर्क जेनेरेट गर्दछ भने सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी अटोमेटिक गियरबक्स रहेको छ । त्यस्तै १.४ लिटर इन्जेक्शन टर्बाे पेट्रोल इन्जिनले १४० बीएचपीको पावर र २४२ एनएमको टर्क जेनेरेट गर्दछ जसमा ६ स्पिड म्यानुअल गियरबक्स वा ७ स्पिड ड्युल क्लच ट्रान्समिशन रहेको छ ।
यसैगरी किया सेल्टोसको डिजेल मोडलमा १.५ लिटर इन्जिन उपलब्ध रहेको छ जुन इन्जिनले ११५ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्दछ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक गियरबक्स दिइएको छ । सेल्टोसमा ३ ड्राइभ मोड नर्मल, इको र स्पोर्ट मोड रहेको छ भने यसका साथमा ३ टेरेन मोडल वेट, मड र सैन्ड पनि उपलब्ध रहेको छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम छन् । त्यसैगरी यसमा फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर पनि रहेको छ ।
हाल नेपाली बजारमा उपलब्ध सेल्टोसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ भने टप भेरिएन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोसको बिक्री बितरण गर्दै आएको छ । नेपाली बजारमा सो गाडीको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुँदै आएको छ । न्यू जेनेरेशन महिन्द्रा एक्सयूभी ५०० एसयूभीमा पनि प्यारोनमिक सनरुफ फिचर रहेको छ ।