विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले मिडसाइज एसयूभी फक्सवागन टाइगुन सार्वजनिक गरेको छ । नयाँ एसयूभी टाइगुन अब असोज १५ गते नेपाली बजारमा सार्वजनिक हुने फक्सवागनको नेपालको लागि आधिकारीक वितरक पुजा इन्टरनेशनलले जनाएको छ । फक्सवागनले पहिलो मेड इन इन्डिया मोडलको रुपमा सो एसयूभी नेपाल आउन लागेको हो । कम्पनिका अनुसार सो एसयूभी डाइनामिक लाइनमा तीन ट्रिम लेभल कम्फर्टलाइन, हाइलाइन र टपलाइन हुनेछन् भने पर्फमेन्स लाइनमा जीटी र जीटी प्लस गरी दुई ट्रिम लेवल हुनेछन् ।
फक्सवागनले टाइगुन एसयूभीमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन रहने छ, जसले ११५ एचपी पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने छ भने अर्को अप्सनको इन्जिन १.५ लिटर रहने छ जसले १५० एचपी पावर प्रदान गर्ने छ । यसमा ६–स्पिड अटोमेटिक र ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ । यसैगरी एसयूभीको लम्बाई ४२१८ एमएम, ह्वीलबेस २६५१ एमएम तथा २०५ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ । डिजेल इन्जिनमा भने सो एसयूभी उपलब्ध हुने छैन ।
एसयूभी टाइगुनमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सफ्ट टच मेटिरियलको ड्यासबोर्ड, सानो सनरुफ जस्ता विशेषता यसमा पाउन सकिन्छ । यसैगरी सो गाडीमा गाडीमा वायरलेस चार्जर, रियर एसी भेन्ट्स, फ्रन्ट तथा रियर स्मार्टफोन चार्जिङ पोर्ट, सेन्ट्रल आर्मरेस्ट, क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, रेड एम्बिएन्ट लाइटिङ, स्मार्ट टच क्लाइमेट्रोनिक अटो एसी आदि फिचर समेत उपलब्ध छन् । सुरक्षाका लागि टाइगुनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, आइसोफिक्स एंकर, हिल होल्ड असिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर दिइएको छ ।
फक्सवागन टाइगुन विभिन्न पाँच कलर अप्सनमा उपलब्ध हुनेछ । सो एसयुभीको नेपाली बजार मुल्य ५५ देखि ७० लाख हाराहारी पर्ने अनुमान गरिएको छ तर अहिलेलाई भने यसको मुल्यको बारेमा कुनै आधिकारीक जानकारी कम्पनीले दिएको छैन । फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नेछ ।