मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी एक्स ५० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले नयाँ एसयूभी एक्स ५० अब छिट्टै नेपालमा विक्री सुरु गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले सन् २०२० देखि प्रिमियम एसयूभी प्रोटोन एक्स ७० समेत बिक्री गर्दै आएको छ । नेपाल भित्रिएको एक्स ५० प्रोटोनको दोस्रो एसयूभी हो । एक्स ७० भन्दा केही सानो साइजमा आएको एक्स ५० मा निकै प्रिमियम फिचर र आधुनिक डिजाइन रहेको कम्पनीले जनाएको छ ।
प्रोटोन एक्स ५० मा १.५ लिटर टिजिडीआई टर्बो इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १५० पीएस पावर र २२६ एनएम टर्क प्रदान गर्छ । सो इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । यसमा स्टेरिङ मोड र ड्राइभ मोड गरी दुई मोड दिइएको छ । नयाँ एसयूभी एक्स ५० मा १८ इन्चको अलोय ह्वील समावेश गरिएको छ ।
प्रोटोन एक्स ५० को लम्बाई ४२९८ एमएम, चौडाई १७९५ एमएम, उचाई १६०९ एमएम, २६०० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३३० लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १६ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
नयाँ एसयूभी एक्स ५० मा फुल एलइडी हेडल्याम्प,अटो हेडलाइट, अटो वाइपर, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता आधुनिक विशेषता पाउन सकिन्छ । यसैगरी सो कारमा ८ वटा स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू जस्ता सुविधाहरू पाउन सकिन्छ ।
त्यस्तै सुरक्षाका लागि नयाँ एसयूभी एक्स ५० ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एबीएस, एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर रहेका छन ।
कम्पनीले प्रोटोन एक्स ५० को मूल्य र भेरियन्टको विषयमा भने कुनै पनि जानकारी दिएको छैन । सो कारको मूल्य ६५ लाखदेखि ८५ लाखसम्म हुने अनुमान गरिएको छ । जगदम्बा मोटर्सले अबको केही दिनमा नै यसको आधिकारी मुल्य पनि सार्वजनिक गरिने जनाएको छ । प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।