होन्डा गोल्डविङ बाइकको मूल्य हुनेछ ६७ लाख

होन्डाले केही दिन पहिले नेपाल भित्र्याएको नयाँ बाइक गोल्डविङको मूल्य सार्वजनिक गरेको छ । सो बाइकको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होन्डा गोल्डविङ होन्डाले ल्याएको हाल सम्मकै सबैभन्दा महंगो बाइक हो । होन्डाले यो एक युनिट बाइक मात्र हाल उपलब्ध गराएको छ ।

१८३३ सीसी क्षमताको एफआई इन्जिनले ५५०० आरपीएममा १२५ बीएचपी पावर प्रदान गर्ने जनाइएको छ । यसले १४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । ६ सिलिण्डर युक्त इन्जिनमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको यो मोटरसाइकलमा रिभर्स गियर उपलब्ध रहेको छ ।

यसमा भएको एप्पल कारप्ले, रिभर्स गियर र मल्टिपल राइडिङ मोडका लागि यो लोकप्रिय छ । एप्पल कारप्ले भएको यो विश्वकै पहिलो मोटरसाइकल हो । इको, रेन, टुरिङ र स्पोर्ट गरी चार मोडमा यसलाई आवश्यकता अनुसार चलाउन सकिन्छ । त्यसैगरी यसमा ठूलो टीएफटी स्क्रिन समेत छ । त्यसैगरी न्यानो सिट, इलेक्ट्रिकल्ली एड्जस्टेबल विन्डस्क्रिन र किलेस स्टार्ट सुविधा छ ।

सुरक्षाको लागि अगाडि डियुल हाइड्रोलिक डिस्क ब्रेकको साथमा ६ पिस्टन क्यालिपर दिइएको छ भने पछाडि भ्यान्टिलेटेड डिस्कको साथ ३ पिस्टन क्यालिपर र डियुल च्यानल एबीस, एयरव्याग समेत उपलब्ध रहेको छ । यो मोटरसाइकलमा आरामदायी यात्राको लागि अगाडि डबल विस्बोन र पछाडि प्रो–लिङक सस्पेन्शन दिएको छ ।

यो मोटरसाइकलको लम्बाई २५७५ एमएम, चौडाई ९०५ एमएम र उचाई १४३० एमएम रहेको छ । कम्पनीले यसमा १६९५ एमएमको ह्वीलवेस दिएको छ । यसमा सिट हाइट भने ७४५ एमएम छ । मोटरसाइकलमा ११० लिटर सामान राख्ने स्टोरज क्षमता रहेको छ । होन्डाले कान्तिपथ सोरुममा डिस्प्ले गरेको सो बाइक पहिलो पटक सन् १९७४ अक्टोबरमा कोलोन मोटरसाइकल शोमा प्रदर्शन गरिएको थियो ।

Share Page

0 Comments

Write a comment

menu
menu