महिन्द्राको बहुप्रतिक्षित मोडल तथा नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा विक्री सुरु भएको पनि जनाएको छ । महिन्द्रा एक्सयूभी-७०० ५ र ७ सिटर अप्सन सहित ६ भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ भने सो कार म्यानुअल र अटोमेटिक अप्सन सहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । नयाँ एक्स्यूभी ७०० मा धेरै हाइटेक फिचर पाउनुका साथै यसमा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर रहेको छ ।
महिन्द्राले एक्सयूभी-७०० मा निकै पावर फुल इन्जिन दिइएको छ । यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन पाउन सकिन्छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ । सो एसयूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको कम्पनिले जनाएको छ । सो एसयूभीको टप स्पेक भेरिएन्टमा अल ह्वील ड्राइभ प्रणाली पनि रहेको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ ।
महिन्द्रा ‘एक्सयूभी-७००’ को लम्बाई ४६९५ एमएम, चौडाई १८९० एमएम, उचाई १७५५ एमएम, २७५० एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५०० लिटर क्षमताको बुट स्पेश र ६० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १९६०-२०४० केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६२.४१ किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । सो कार ५ र ७ सिट क्षमतामा उपलब्ध हुनेछ । यसमा १८ इन्चको अलोय ह्वील रहेको छ ।
महिन्द्रा ‘एक्सयूभी-७००’ मा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसको टप भेरियन्टमा भने १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र सिक्स वे पावर्ड ड्राइभर सिट रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।
यसैगरी ‘एक्सयूभी-७००’ मा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट र स्पीड अलर्ट जस्ता अन्य फिचर पाउन सकिन्छ । यसमा रहेको बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि पनि प्रयोग गरिएको छ । यसमा १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम पाउन सकिन्छ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको थियो । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
महिन्द्रा एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रुपैयाँ र टप भेरियन्टको मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ । यसको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स ५ को ८१ लाख, एएक्स ५ सात सिटरको ८३ लाख, एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख, एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ । यसले नेपाली बजारमा एसयूभी टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।