नेपाली बजारमा हुन्डाई आई २० को नयाँ जेनेरेशन सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक गरेको जनाएको छ । कम्पनीले फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट सो कार सार्वजनिक गरेको हो । सो कार यूरोपियन डिजाइनमा तयार भएको कम्पनीले जनाएको छ । हिजो मात्र सार्वजनिक गरिएको तेस्रो जेनेरेसन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ ।
नयाँ जेनेरेशन आई २० मा १.२ लिटर क्षमताको कप्पा इन्जिन दिएको छ जुन इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्नेछ । सो ह्याचव्याकमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । कम्पनीका अनुसार आई २० नेपाली बजारमा १.२ लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ । सो कार अन्तर्राष्ट्रिय बजारमा भने १.५ लिटर डिजेल र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध रहेको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो ह्याचव्याक पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ ।
इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल सो कारमा ठूलो ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, जेड आकारको एलइडी टेल ल्याम्प, १६ इन्च डायमण्ड कट अलोय ह्वील जस्ता विशेषता पाउन सकिन्छ । प्रिमियम सिट, व्ल्याक करल इन्टेरियर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पनि पाउन सकिन्छ । सुरक्षाको लागि सो कारमा ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल र टायर प्रेसर मोनिटरिङ यसमा पाउन सकिन्छ ।
कम्पनीले आई २० दुई भेरियन्टमा नेपाली बजारमा उतारेको छ । नेपाल ल्याएको आई २० को म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकेर विक्री सुरु गरिएको छ । नेपालमा हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि निकै प्रख्यात मोडल हो । नयाँ आई २० ले नेपाली बजारमा फोर्ड फिगो, टाटा अल्ट्रोज, सुजुकी स्विफ्ट, बलेनो र होन्डा ज्याज जस्ता गाडीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।